काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखिएको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । यो रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा तोकिएको छ ।

यसअघि यो रिटमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश गरेको थियो ।

प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन् । जसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको थियो ।

प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा म्याद थप गरी थुनामा राखिएको छ ।

प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गरेर छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।