मोरङ— आइतबार विराटनगरमा एमाले नेता महेश बस्नेत सवार वाहनमाथि रातो मसी छ्यापेका छन् । एयरपोर्ट लाइनतर्फ जाँदै गरेको गाडीलाई सडक किनाराबाट दौडँदै आएका एक युवकले रातो मसी छ्यापेका हुन् । मसी छ्यापेपछि बस्नेत सवार गाडी केही समय रोकिएको थियो।
घटनापछि प्रहरीले विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जनाएको छ। प्रहरी भ्यानतर्फ लान लाग्दा पनि कुँवरले बस्नेतविरुद्ध नाराबाजी गरेको भिडियो सार्वजनिक भएको छ। उनले एमाले र बस्नेतप्रति सांकेतिक विरोध जनाउन रङ फ्याँकेको बयान दिएको प्रहरीको भनाइ छ ।
युवा संघको कोशी प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन बस्नेत विराटनगरबाट सुनसरीतर्फ जाँदै गरेका बेला घटना भएको हो। केही दिनअघि पनि उनी सिमरा जाँदै गर्दा अवरोध झेल्नुपरेको थियो।






































