मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी–खुर्सानीबारी भित्रि सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भएको छ । 

मंसिर ५ गते साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बागमती नदीमा जमेको फिज (बरफ) बीचबाट गाडी पार गर्दै गर्दा पछाडिको चक्का ढुङ्गामा अड्किएपछि गाडी चिप्लिएर नदीमै भासिएको थियो ।  घटनाबारे मंसिर ६ गते दिउँसो करिब १२ बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको थियो ।

गाडी नदीको पानीमा डुबेको अवस्थामा फेला परेको र मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । स्थानीयको सहयोगमा डुबेको बोलेरो निकालेर सडक छेउमा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार, ‘गाडी बागमती नदी पारगर्ने क्रममा पछाडिको चक्का ढुङ्गामा परेको र चिप्लिएर नदीमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।

घटना गम्भीर देखिए पनि मानवीय क्षति नभएकाले राहतको विषय हो । गाडीलाई बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको छ ।’

उनका अनुसार दुर्घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्वमा पर्छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।