जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सवको दोस्रो दिन (शुक्रबार) फूलबारी लीला सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिर छेउमै रहेको विवाहमण्डप प्राङ्गनमा फूलवारी लीला गरिएको छ ।

त्रेता यूगमा मिथिला नरेश शिरध्वज राजर्षि जनकको प्रतिज्ञा अनुसार आयोजना गरिएको धनुषयज्ञमा मर्यादा पुरुषोत्तम भगवान् राम गुरू वशिष्टसँगै जनकपुरधाम आएको बेलामा जनक दुलारी माता सीतासँग फूलवारीमा सर्वप्रथम भेट भएको सम्झनामा फूलबारी लिला गरिन्छ ।

हजारौंको सख्यामा फूलवारी लीला हेर्न आएका श्रद्धालुभक्तजनहरुले सिया बोलको नारा लगाउँदा वातावरण सियामय भएको थियो ।

शनिबार(भोली) विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरधामको ऐतिहासिक बाह्र विघा मैदानमा धनुष यज्ञ हुने छ । त्यस्तै, आईतबार जनकपुरधामको राममन्दिरमा तिलकोत्सव मनाइने छ । त्यसको भोलीपल्ट सोमबारको दिन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा मटकोर मनाइन्छ । मंगलबार मुख्य दिन स्वयमवर विधि तथा शुभ विवाह महोत्सव हुनेछ । र अन्तिम दिन बुधबार रामकेलवा भएसँगै विवाहपञ्चमी महोत्सव समाप्त हुनेछ ।