काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चीनबाट साना मुलुकले वैज्ञानिक ढङगबाट जनताका विचार, मत र जनताको प्रतिनिधित्व गर्ने प्रक्रियाहरु सिक्नुपर्ने बताएका छन् ।  

शुक्रबार पत्रकार चेतनाथ आर्चायद्वारा लिखित ‘चिनियाँ दृष्टिकोण’ नामक पुस्तक लोकार्पण कार्यक्रम कार्यक्रममा बोल्दै उनले  

‘शान्ति, सहअस्वित कायम राख्नका लागि साना ठूला राष्ट्रहरुको स्वतन्त्रताको लागि, जनताको सार्वभौम सत्ताको लागि र गरिबी अन्त्य गर्दै समानतामा आधारित मानव जातिको उन्नतिका लागि चीनले लिएको नीतिहरु सहि छन् कि गलत भन्ने कुरामा बहस हुनुपर्छ । चिनियाँ दृष्टिकोणको बारेमा बहस गरेर मुलुकले सिक्नुपर्ने कुराहरु थुप्रै छन्,’ उनले भने । 

घिमिरेले अगाडि भने,‘चीनमा लोकतन्त्र छैन । आवधिक निर्वाचन हुँदैन । सत्ता परिवर्तन वा सरकार परिवर्तन हुँदैन । चिनिया कम्युनिष्ट पार्टीको नेतृत्वमा निरङकुशता लाद्ने काम गरिन्छ र त्यसको विरुद्ध बोल्नेलाई  दमन गरिन्छ भन्ने व्यापक प्रचार छ । तर चिनिया लोकतन्त्र कस्तो छ र त्यसले कस्तो माध्यमबाट कसरी ८० प्रतिशत भन्दा बढी जनमत लिएर निर्णय गर्छ भने वैज्ञानिक ढङगबाट बुझ्नसक्नुपर्छ ।’ उनले चीनले जनताका विचार, मतहरु र जनताको प्रतिनिधित्व गर्ने सिस्टमको विकास गरेको पनि बताए । 

चीनका लागि राजदूत भइसकेका नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणी पौडेलले चीनको वीआरआइ परियोजनाबारे नेपाली समाजमा निम्सरो बुझाइ रहेको औंल्याए । उनले बीआरआइलाई कुनै विकासको मुल फुटाउने योजना नभइ विकासका लागि अवसर हो कि चुनौति हो भन्नेमा नेपालीहरु स्पष्ट हुनुपर्ने बताए । 

‘बीआरआइ प्रोजेक्टबारे दर्जनौं देशले फाइदा लिएको कुरा भन्दा पनि फेल भएका विषयहरु चर्चामा आउँदा गलत भाष्य निर्माण भएको छ,’ उनले भने,‘लेखक आचार्यले लेख्नुभएको पुस्तकमा यस्ता कुरामा बुझाउन सक्नुपर्ने थियो । साथै पुस्तकले नेपाल र चीन सम्बन्धका बारेमा स्पष्ट रुपमा बोलेको छ ।’

त्यस्तै विश्लेषक डा. युवराज संग्रौलाले पुस्तकका बारेमा चर्चा गर्दै सुचनात्मक र विश्लेषणात्मक रहेको बताए । उनले नेपाल र चीनबीचको वीआरआई लगानीबारे पुस्तकले स्पष्ट उल्लेख रहेको औंल्याउँदै नेपाल–चीन सम्बन्धबारे बुझ्न पुस्तक उपयोगी भएको बताए । चीनसँग १६ सय पुरानो लगानीको सम्बन्ध रहेको उल्लेख गर्दै डा.संग्रौलाले मुलुकले आर्थिक विकास नगरे चीन र भारतले नेपालमा फुटबल खेल्नसक्ने बताए ।

‘चिनियाँ दृष्टिकोण’ पुस्तकका लेखक अर्थात चिनिया रेडियो इन्टरनेशनल नेपाली शाखाका विदेश मामिला विज्ञ आचार्यले कुनैपनि मुलुकले चिनियाँ दृष्टिकोण बुझ्न एक पटक पुस्तक पढ्न आग्रह गरे ।