बारा । बारको सिमरा क्षेत्रमा बुधबारदेखि चर्किएको विवाद र तनावलाई साम्य पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू छलफलमा जुटेका छन् ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षबीचको वार्ता पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा केहीबेरमा हुँदैछ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीहरूलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो, तर जेन–जी समूहले वार्ता सिमरा आसपास क्षेत्रमै हुनुपर्ने माग राखेका थिए। प्रजिअ मिश्रले भने, ‘जिल्ला सुरक्षा समिति र जेन–जी अगुवाहरूबीच हुन सक्ने आपसी असमझदारी हटाउन छलफल गर्न लागिएको हो। यसले स्थिति सामान्यीकरण गर्न सहयोग पुग्ने विश्वास छ ।’
प्रदर्शनको नेतृत्व गरिरहेका केही जेन–जी अगुवाहरू छलफलका लागि आउने जानकारी आफूले पाएको प्रजिअ मिश्रले जनाएका छन्।सिमरामा विवाद बुधबार एमाले नेता–कार्यकर्ताले जेन–जी युवालाई कुटपिट गरेपछि बढेको थियो । जेन–जी युवाहरूले कफ्र्यू आदेशको अवज्ञा गर्दै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन जारी राखेका थिए ।
जेन–जीहरूको उजुरीका आधारमा प्रशासनले जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई वडाध्यक्ष र अर्का एक स्थानीय युवा नेतासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।






































