रौतहट— रौतहटमा विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

माधवनारायण नगरपालिका वडा नं. ३ सखुआवामा रहेको ओम एकेडेमीको बसले जयनगरमा शुक्रबार बिहान दुई बर्षीय बालकलाई ठक्कर दिएको हो ।

गरुडा नगरपालिका वडा नं. १ जयनगर बस्ने रंजन साहका दुई  वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ ।बसको ठक्करबाट  बालक आदित्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले बताए । 

उनका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।इलाका प्रहरी कार्यालय गरुडाले बालकलाई ठक्कर दिने बस नियन्त्रणमा लिएको छ । 

घटनापछि बसका चालक फरार रहेकाले पक्राउ गर्नको लागि खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । यस दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।