मकवानपुर— मकवानपुरको बागमती गाउँपालिका–२ बगाहका स्थानीयवासीले गाउँमा पहिलोपटक बस सेवा संचालन भएपछि बसका चालक र सहचालकलाई हार्दिक स्वागत गरेका छन् । 

बिहीवारदेखि हेटौंडा–राईगाउँ–बगाह–डोटे हुँदै रौतहटको क्यान्टिनसम्म नियमित बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएपछि दशकौँदेखि यातायातको सहज पहुँच नपाउँदै आएका स्थानीयहरू उत्साहित बनेका हुन् ।

यसअघि बगाह क्षेत्रमा साना गाडीहरूले मात्र यात्रा सुगम बनाउने प्रयास गरे पनि भौगोलिक कठिनाइ र सडक संरचनाका कारण ठूला सवारीसाधन चल्न सकेका थिएनन्। अब भने पहिलोपटक बस नियमित रूपमा गाउँसम्म पुगेपछि स्थानीयले यसलाई ऐतिहासिक क्षणका रूपमा मनाएका छन् ।

गाउँको चोकमै भेला भएका स्थानीयहरूले चालक–सहचालकलाई फुलमाला र अबिर लगाई सम्मान गर्दै बस संचालन सुरु भएकोमा खुसी व्यक्त गरे । बस सेवा प्रारम्भ भएपछि बगाह र आसपासका बस्तीमा बसोबास गर्दै आएका सर्वसाधारणलाई तराई तथा जिल्ला सदरमुकाम हेटौंडासम्म पुग्न निकै सजिलो हुने स्थानीयको भनाइ छ ।

नयाँ बस सेवा सुरु भएपछि दैनिक जीवन, व्यापार–व्यवसाय, शिक्षाको पहुँच तथा रोगी बोक्ने सुविधामा समेत ठूलो सहजता आउने अपेक्षा गरिएको छ । स्थानीयहरूले सरोकारवालाहरुलाई नियमित मर्मत–सम्भार र सेवाको निरन्तरतामा ध्यान दिन पनि आग्रह गरेका छन् ।

बगाह–डोटे–राईगाउँ हुँदै क्यान्टिनसम्म चल्ने यस बस सेवाले ग्रामीण क्षेत्रको आवतजावतलाई नयाँ आयाम दिएको स्थानीयहरूले बताएका छन् ।