रौतहट— बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ ।  नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो ।

जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको बताएका छन् । 

उनले शुक्रवार हुने वार्ताले स्थायी समाधान निकाल्ने विश्वास व्यक्त गरे ।वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी हुने भएका छन् । उनीहरू बिहीबार साँझ नै सिमरा आइपुगेका छन् । 

प्रहरीमा दर्ता भएको जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताए ।पक्राउ पर्नेमा जितपुरसिमरा–२ का ३८ वर्षीय अरविन्द साह, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमद्विन अन्सारी रहेका छन् । 

उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रजिअ मिश्रले बताए । घटनामा ६ प्रहरी र ४ जेन–जी युवा घाइते भएका छन् । 

स्थिति नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पटक–पटक कफ्र्यु आदेश जारी गरेको थियोे  ।  जेन–जी समर्थकहरूले आज (शुक्रवार) सम्मका लागि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । अहिले सिमराको जनजीवन सामान्य बनेको छ ।