बारा— बाराको सिमरामा आन्दोलित जेनजी समूह र प्रशासन बिच बार्ताको तयारी अघि बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर बार्तामा बस्न आह्वान गरेका हुन ।
जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्न सुझाएका छन । प्रशासनले गरेको आह्वानलाई जेनजी समुहले स्वीकार गरेपनि बार्ता कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन।
यद्यपि, बार्ता भने इलाका प्रहरी कार्यालय सिमरामा बस्नुपर्ने उनीहरुको अडान छ । जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रशासन भित्र पनि आन्तरिक समन्वय चलिरहेको छ ।
सिमरामा झडपपछि निरन्तर तनावपूर्ण बनेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बारा र जेनजी समूह दुवै संवादतर्फ उन्मुख भएका हुन। सिमरामा आन्दोलित जेनजी समूहले अझै पनि प्रर्दशन गरिरहेका छन ।






































