बारा— बाराको सिमरा क्षेत्रमा बुधबार बिहान नेकपा एमालेका कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच विवाद चर्किँदै झडपसम्म पुगेको घटनापछि वातावरण तनावपूर्ण बनेको छ।
युवाहरूको जथाभावी भीड तथा विरोधका बीच सिमरा विमानस्थल परिसर अत्यधिक संवेदनशील बनेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रदर्शनमा सहभागी जेन–जी समूहका युवाले विमानस्थलको मुख्य गेट समेत भत्काइदिएका थिए, जसपछि सुरक्षाकर्मीको ठूलो फौज परिचालन गरिएको हो।
बुधबार परवानीपुरमा आयोजित मधेश प्रदेशस्तरीय युवा भेलामा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत सिमरा हुँदै जाँदै थिए। कार्यक्रमबारे जानकारी पाएपछि केही स्थानीय युवाहरूले कार्यक्रम अवरोध गर्ने उद्देश्यले ‘जेन–जी प्रदर्शन’ को आह्वान गरेका थिए। त्यसकै कारण बिहानैदेखि सिमरामा दुवै समूहका मानिसको भिड बढ्न थाल्यो।
नेताहरूलाई स्वागत गर्न जाँदै गरेका एमाले कार्यकर्ता र विरोधका लागि भेला भएका युवाबीच बाटैमा वादविवाद चर्किँदै गएपछि अवस्था नियन्त्रणभन्दा बाहिर पुगेको प्रहरीले बताएको छ। हाल स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ।






































