काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यु १९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ । 

मंगलबार क्यानले एसिसी यु–१९ प्रिमियर कप खेल्न दुबाई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो ।

सोही क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिदैँ आएको राम्रो अवसर गुमाउन नहुने बताए ।  

उनले भने, ‘टोलीलाई हृदयदेखि नै शुभकामना दिन चहान्छु । एसिसि प्रिमियर कप जुन भईरहेको छ त्यसको लागि तपाईहरु एकदमै भाग्यमानी हो । तपाईहरुले आफूलाई कमजोर ठान्नु भएन र कसैले ठानेको छ जस्तो पनि मलाई लागेको छैन् । तपाईहरुले राम्रो अवसर पाउनु भएको छ, यसलाई नगुमाउनु होला ।’

यस्तै, उनले क्रिकेटले धेरै बाटो खोलिदिएको कारण पनि एकदमै मेहेनत गर्नुपर्ने बताए । 

एसीसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्यीय नेपाली टोलीको कप्तानी अशोक धामीले गरिरहेका छन् भने निरज यादव विकेटकिपरको भूमिकामा रहनेछन् ।

घोषित टिममा निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, सिब्रिन श्रेष्ठ, दर्श सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन बिक, अपराजित पौडेल र वंन्स क्षेत्री छन् ।