रौतहट— रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ । 

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ । 

यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ  । मतदाता परिचयपत्र बनाउने समयसीमा मंसिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिनेक्रम जारी रहेको दासले बताए।

विशेषगरी युवाहरू मतदाता परिचयपत्र बनाउने प्रक्रियामा सक्रिय रहेको भन्दै, दर्तामा युवाको सहभागिता बढ्दो रहेको उनले उल्लेख गरे ।

कानुनले १६ वर्षमा नागरिकताको प्रमाणपत्र प्राप्त हुने व्यवस्था गरे पनि मताधिकार प्रयोगमा १८ वर्ष हुनुपर्ने छ ।  नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर सो मितिसम्म १८ वर्ष नपुगेका नागरिक आगामी निर्वाचनमा मतदान गर्न योग्य नहुने उनले बताए ।

२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको मात्र मतदाता नामावलीमा नाम दर्ता हुने आयोगले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार नयाँ दर्ता भएका मतदातामध्ये पुरुष ३ हजार ५१८ र महिला २ हजार ५८९ र अन्यमा १ जना छन ।

जिल्लामा यसअघि ४ लाख २१ हजार ६९३ मतदाता रहेकोमा थप ६,१०८ समावेश भएपछि कुल मतदाता संख्या ४ लाख २७ हजार ८०१ पुगेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।