काठमाडौं— निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्न दिएको समय आइतबार सकिँदै छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि हुने निर्वाचनका लागि नयाँ दल दर्ता गर्न दिएको समय आइतबार साँझबाट सकिँदै छ ।
आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । यसका लागि आयोगले दल दर्ता आह्वान समेत गरिसकेको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दर्ता भइसकेका दललाई निर्वाचन प्रयोजनार्थ पुनः दल दर्ता गर्न भनेको छ ।
सुशील कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले मौजुदा प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि चुनावको मिति तोकेको हो भने आगामी फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदै छन् । उक्त रिक्त पदपूर्तिका माघ ११ गते निर्वाचन हुन लागेको हो ।




































