काठमाडौं— नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही मंसिर महिनाभित्र गर्नुपर्ने मागसहित कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले जानकारी दिए । 

जारी केन्द्रीय समितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन अधिवेशनका लागि  तहगत कार्यतालिका बनाई लागू गर्नुपर्ने बताए ।   

‘१५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसिमा निर्धारण गरेर क्रियाशिल सदस्यता टुङ्ग्याउनु पर्ने, आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई गर्ने लागू गर्नुपर्छ,’ जोशीले ज्ञापनपत्र पढ्दै भने । 

यस्तै उनले नेपालको हरके संकटको बेला नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका इतिहासले पुनः एकपटक नेपाली कांग्रेसको काँधमा सुम्पेको समेत बताए । 

 यस्ता छन्, ज्ञापनपत्रमा उल्लेख ७ बुँदे मागहरु 

१.१५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियासिल सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसिमा निर्धारण गरेर क्रियासिल सदस्यता टुङ्ग्याउनु पर्ने ।

२.आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई गर्ने लागू

३. वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संसोधन गर्नुपर्ने ।

४. हालसम्म पनि पार्टीको आन्तरीक निर्वाचन समितिले पुर्णता नपाएको हुँदा अभिलम्ब निर्वाचन समिति विस्तार गरी पूर्णता दिनु पर्ने ।

५. आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने ।

६.अब हुने स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने

७. संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारण निर्माण गर्ने ।