काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार पुनः सञ्चालन गर्न आवश्यक बजेट स्वीकृत गर्दै ऐतिहासिक ४३ दिने लामो सरकार बन्द अवधि औपचारिक रूपमा अन्त्य गरेका छन् ।
बुधबार ओवल अफिसमा बजेट स्वीकृत गर्ने समारोहमा बोल्दै ट्रम्पले यस लामो बन्दका लागि डेमोक्र्याटहरू जिम्मेवार रहेको आरोप लगाउँदै यसलाई ‘अमेरिकी करदातालाई दबाब दिने प्रयास’ भने ।
उनले भने, ‘गत ४३ दिनदेखि कांग्रेसका डेमोक्र्याटहरूले अमेरिकी सरकार बन्द गरेर अवैध आप्रवासीका लागि सयौं अर्ब डलरको माग गर्दै अमेरिकी करदातालाई दबाब दिन खोजे । आज हामी स्पष्ट सन्देश दिँदैछौं कि हामी कहिल्यै दबाबमा पर्न सक्दैनौं ।’
यसअघि, अमेरिकी प्रतिनिधि सभाले बजेट प्याकेज अनुमोदन गरेको थियो । सभाले यसलाई २२२ विरुद्ध २०९ मतले पारित गरेको थियो, जसमा अधिकांश रिपब्लिकन र केही डेमोक्र्याटहरूले समर्थन गरेका थिए । यसअघि अमेरिकी सिनेटले पनि यसै हप्तामा बिल पारित गरेको थियो ।
समारोहमा राष्ट्रपति ट्रम्पले सरकार बन्द रहँदा जनसेवामा ठूलो असर परेको र दुई लाख भन्दा बढी उडान रद्द वा ढिला भएका, एक करोड सरकारी कर्मचारीले तलब पाएका छैनन् र अहिले लाखौं अमेरिकीलाई खाद्य सहायता कटौती भएको बताए ।
नयाँ स्वीकृत बजेट एच.आर ५३७१ ले संघीय सरकारको अधिकांश कार्य जनवरी ३०, २०२६ सम्म जारी राख्ने व्यवस्था गरेको छ ।
यसले कृषि, ग्रामीण विकास, फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन, सैन्य निर्माण, भूतपूर्व सैनिक विभाग र विधायिका शाखा जस्ता मुख्य क्षेत्रहरूका लागि पूर्ण वर्षको विनियोजन पनि समेटेको छ ।
बजेट पास भएपछि सरकार तात्कालिक रूपमा आफ्नो सामान्य कामकाज पुनः सुरु गर्नेछ, र तलब नपाएको कर्मचारीहरूलाई भुक्तानी वितरण हुनेछ । यसले महत्वपूर्ण कार्यक्रमहरूमा रोकिएको रकमपनि पुनः स्थापना गर्ने जानकारी कार्यकारी कार्यालयले दिएको छ ।
ट्रम्पले समारोहमा फिलिबस्टर प्रणालीको अन्त्य गर्नुपर्ने पनि आह्वान गरे, जसले अमेरिकी सिनेटमा अनिश्चितकालीन बहस गरेर विधेयक वा प्रस्तावमा मत रोक्ने वा ढिला गर्ने प्रचलनलाई जनाउँछ ।
यससँगै अमेरिकी सरकारले इतिहासको सबैभन्दा लामो र विवादास्पद सरकार बन्द अवधि अन्त्य गर्दै पूर्ण रूपमा काम सुरु गर्ने भएको छ । ट्रम्पले आफ्नो भाषणमा भने, ‘मेरो हस्ताक्षरपछि संघीय सरकार सामान्य रूपमा सञ्चालन हुनेछ ।






































