काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्नमा रहेको बताएका छन् । 

शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको बताएका हुन् ।

‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको छ,’ उनले भने । 

उनले लगानीका लागि सापटी मागेर निजी क्षेत्रले जसोतसो भएपनि लगानी गरिरहेको भन्दै जेनजी आन्दोलनले आफैले आफैलाई फर्केर हेर्न बाध्य बनाएको बताए । 

उनले निजी क्षेत्रमा पटक पटक प्रहार हुँदा पनि दरिलो र जिम्मेवार बनेको भन्दै निजी क्षेत्रले पनि आफ्नो समिक्षा गरिरहेको बताए । 

‘निजी क्षेत्रको उदेश्य भनेको सेवा दिएर नाफा कमाउनु हो । तर यसको फरक बुझाइका कारण बारम्बार निजी क्षेत्रमा प्रहार हुने गरेको छ । तर पनि निजी क्षेत्र दरिलो र जिम्मेवार छ । हामी समिक्षा गर्दैछौं कहाँ चुक्यौ भनेर,’ उनले भने, ‘जेनजी आन्दोलनमा लुटपाट, आगजनी गर्नेलाई सरकारले कारबाही गरेर अगाडि बढ्न आवश्यक छ । निजी क्षेत्रको भावनालाई सरकारले बुझेको छ भन्ने आशा लिएका छौं ।’