हेटौंडा— पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा, सुमार्गी कम्प्लेक्सअगाडिको भागमा हालै राखिएको एउटा ‘बेनामे सूचना बोर्ड’ले स्थानीयमा कौतुहलता र प्रश्न उत्पन्न गरेको छ ।
सडकको बीच भागमा बाक्लो पोलमा जडान गरिएको उक्त बोर्डमा कुनै पनि सरकारी निकायको नाम, लोगो वा जिम्मेवार संस्था उल्लेख गरिएको छैन ।
स्थानीय व्यापारी र सवारी चालकहरूले उक्त बोर्डको स्थान र डिजाइनले सडक सुरक्षामै जोखिम सिर्जना गर्न सक्ने बताएका छन् । ‘राजमार्गकै बीचमा राखिएको छ, रातमा टाढाबाट हेर्दा ठोक्किने डर हुन्छ,’स्थानीय व्यापारी सुरेश पौडेलले बताए ।
सडक विभागका एक इन्जिनियरले नाम नखुलाउने सर्तमा भने, ‘सडक बीचमा कुनै पनि संरचना राख्न विभागको अनुमति अनिवार्य हुन्छ । यस्तो बोर्ड आधिकारिक अनुमति बिना राखिएको भए तत्काल हटाउनुपर्ने हुन्छ ।’
हालसम्म उक्त बोर्ड कसले राखेको हो भन्ने स्पष्ट भएको छैन । मकवानपुर जिल्ला प्रशासन कार्यालय र सडक विभागले यसबारे अनुसन्धान गर्ने तयारी गरिरहेको जनाइएको छ ।
स्थानीयवासीहरूले सम्बन्धित निकायलाई छिटो अनुसन्धान गरी सार्वजनिक ढंगले जानकारी दिन माग गरेका छन् ।
                    
                                        
                                                                                                
        








        




























