काठमाडौं— जिल्ला निर्वाचन कार्यालय ललितपुरमा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाको संख्या तीव्र गतिमा बढ्दै गएको छ। निर्वाचन आयोगले अनलाइन फारम भरेपछि देशभरका जुनसुकै कार्यालयमा गएर फोटो र बायोमेट्रिक विवरण बुझाउन सकिने व्यवस्था गरेपछि दर्ता प्रक्रिया सहज बनेको छ।

आयोगका अनुसार सोही सुविधाका कारण युवाहरुको सहभागिता उल्लेखनीय रूपमा बढेको हो। आयोगले फागुन २१ गते घोषणा गरिएको आगामी निर्वाचनका लागि कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ।

निर्वाचन कार्यालयका अधिकारीका अनुसार, हाल दैनिक रूपमा सयौं युवाहरू नाम दर्ताका लागि कार्यालयमा पुग्ने गरेका छन्। उनीहरूले पहिलो पटक मतदान गर्न पाउने उत्साहका साथ नाम दर्ता गराइरहेका छन्।