कैलाली— स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– ३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू सवार यूपी ३१ सीएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित ती व्यक्तिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।






































