काठमाडौं— सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा क्षेत्रका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार बञ्चरेडाँडामा स्थानीय सरोकारवालासँगको भेटवार्तामा मन्त्री घिसिङले फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै आवश्यक कार्य तत्काल अघि बढाइने जानकारी दिए।

उनले लामो समयदेखि उपेक्षित रहेको स्थानीय माग र पीडालाई सम्बोधन गर्न मन्त्रालय र काठमाडौं उपत्यका फोहोर व्यवस्थापन परियोजना बीच समन्वय गरेर योजना कार्यान्वयन गरिने उल्लेख गरे।

मन्त्री घिसिङले भने, “स्थानीयको जायज मागलाई सरकारले सुनेको छ। आगामी १५ दिनभित्र सहमतिअनुसारका मागहरू कार्यान्वयनमा ल्याइनेछ।”

बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका कारण लामो समयदेखि स्थानीय बासिन्दा आन्दोलनरत छन्। उनीहरूले स्वास्थ्य, सरसफाइ, पूर्वाधार र क्षतिपूर्ति व्यवस्थापनका विषयमा सरकारले स्पष्ट योजना ल्याउन माग गर्दै आएका छन्।