रामेछाप— लगातारको वर्षाका कारण तीन दिनदेखि अवरुद्ध भएको बिपी राजमार्ग आइतबार पुनः सञ्चालनमा आएको छ। काभ्रेको मंगलटार प्रहरी चौकीका असई पुष्कर श्रेष्ठका अनुसार आइतबार बिहान ११ः३० बजेबाट सडकमा सवारी आवागमन सुचारु भएको हो।
तीन दिनदेखि निरन्तर वर्षाका कारण काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड विभिन्न स्थानमा पहिरो र लेदोले पुरिएको थियो। हिजो साँझदेखि सफाइ सुरु भएसँगै सडक पूर्ण रूपमा खुल्न सफल भएको प्रहरीले जनाएको छ।
काभ्रेको रोशी गाउँपालिका क्षेत्रको नाङ्गशाल रोडा ढुङ्गा उद्योग नजिकैको खानी क्षेत्रबाट खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध गरेको थियो। साथै, अन्य ठाउँहरूमा पनि माटो र ढुङ्गा खस्दा सडक यातायात ठप्प भएको थियो।
सडक बन्द हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका थिए भने केहीले वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गरेका थिए। स्थानीय बासिन्दाहरूले सडक छेउमा सञ्चालनमा रहेका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गको माटो कमजोर बनाउँदै क्षति पुर्याइरहेको भन्दै नियन्त्रणको माग गरेका छन्।
गत असोज १८ र १९ गतेको वर्षाले रोशी खोलामा बाढी ल्याउँदा राजमार्गको अस्थायी डाइभर्सन बगाएको थियो, जसका कारण एक हप्तासम्म सडक बन्द भएको थियो। गत वर्षको असोज महिनामा आएको बाढीले पनि सो राजमार्गमा ठूलो क्षति पुगोको थियो। हाल त्यही स्थानमा अस्थायी डाइभर्सनमार्फत आवागमन हुँदै आएको छ।
काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै तराईलाई जोड्ने प्रमुख राजमार्गका रूपमा बिपी राजमार्गले जनकपुर, बर्दिबास, इटहरी, रामेछाप, ओखलढुङ्गा, सोलु र भोजपुरतर्फको यातायातमा महत्वपूर्ण भूमिका खेलेको छ। राजमार्ग अवरुद्ध हुँदा यी क्षेत्रका आवागमनमा समेत असर पर्ने गरेको छ।






































