बेइजिङ— चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ ।

सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र–शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बताएका छन् । विशेष गरी ठूलो वजनका आभूषण तथा लगानीका लागि बनाइने सिलभर बारहरूको माग अत्यधिक देखिएको छ ।

पूर्वी चीनको शानदोंग प्रान्तबाट शुइबेइ पुगेका व्यापारी गुओले ५०० ग्रामका थोरै बाँकी रहेका चाँदीका बार किने । उनले पछिल्लो समय चाँदीको अभाव यति भएको बताए की, नियमित ग्राहक वा आफन्तले समेत अग्रिम भुक्तानी गर्दामात्रै अर्डर सुनिश्चित गर्न सक्ने अवस्था आएको छ ।

अर्का एक व्यापारीले भने “शुइबेइ क्षेत्रमा कतै पनि चाँदीको बारको स्टक छैन । माग यति बढेको छ कि मध्यरातमै पनि चाँदी किन्न फोन आउने गरेको छ ।“

शुइबेइका खुद्रा पसलेहरूका अनुसार हाल बजारमा आएको चाँदी तत्कालै बिक्री हुने र यस्तो ‘खरिद उन्माद’ विगत १० वर्षमा नदेखिएको स्थिति हो ।

सिलभर शो–रूमका प्रबन्धक आइ जियावेई भन्छन,“गत दस दिनयता त झनै ठूलो संख्यामा विभिन्न क्षेत्रका मानिसहरू चाँदीको मूल्य सोध्न र किन्न आउन थालेका छन् । १० वर्षको अनुभवमा यस्तो उन्माद कहिल्यै देखेको छैन । भित्रिने सबै चाँदी हरेक दिन ढुवानी गर्नमै व्यस्त छौँ ।“

बजार तथ्यांकअनुसार अक्टोबर मध्यसम्म आइपुग्दा चाँदीको मूल्य यो वर्षकै शुरुवातदेखि करिब ७० प्रतिशतले बढेको छ । सोही अवधिमा सुनको मूल्य वृद्धि ५५ प्रतिशत हाराहारीमा रहेको छ ।

विश्लेषकहरूका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितताबीच सुरक्षित लगानीको विकल्पका रूपमा चाँदीको माग बढ्नु मूल्य वृद्धि हुनुको प्रमुख कारण हो । सुन जस्तै चाँदी पनि अहिले सुरक्षित सम्पत्ति का रूपमा लोकप्रिय बन्दै गएको छ ।