मकवानपुर— अविरल वर्षासँगै हेटौँडा–काठमाडौं जोड्ने प्रमुख राजमार्ग कान्तिलोकपथमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिकै सडकमा ढुङ्गा र माटो खस्दा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन डोजर र जनशक्ति परिचालन गरिएको भएपनि लगातारको वर्षाका कारण माटो र ढुङ्गा झर्ने क्रम नरोकिएपछि काममा कठिनाइ आइरहेको उनको भनाइ छ।
यस्तै, हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली मार्ग पनि अझै सुचारु हुन सकेको छैन। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार साँझ खसेको पहिरोले उक्त बाटो पनि बन्द भएको हो।
सडक अवरुद्ध भएपछि काठमाडौं र हेटौँडाबीचका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। बोगटीका अनुसार, लगातार वर्षाका कारण बाटो तुरुन्तै खोल्न कठिन हुने देखिएकाले यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।






































