भोजपुर— भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

शनिबार षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट काठ लिएर दिङ्ला आउँदै गरेको प्रदेश नम्बर १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर  अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दिपक श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार काठ बोकेको ट्याक्टरमा एकादशी मेलाबाट फर्किँदै गरेका यात्रु पनि सवार थिए। ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर सडकबाट झण्डै ३० मिटर तल खसेको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक षडानन्द नगरपालिका –४ केराबारीका २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाउँपालिका –४ चरम्बी निवासी १७ वर्षीय नवीन तामाङ छन्। उनीहरुलाई पल्टिएको ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको हो।

घाइते चार जनालाई नगर अस्पताल दिङ्लामा सामान्य उपचारपछि थप उपचारको लागि धरान लगिएको छ।

घाइते हुनेमा षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीया सुनिता तामाङ छन्। घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।