बाजुरा— बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना भएको हो।

दुर्घटनामा परि बसमा सवार ३० जना घाइते भएका छन्। बस कोल्टीबाट धनगढीका लागि छुटेको थियो । घाइतेमध्ये २० जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । भने ६ जनाको कोल्टी आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको छ। 

दुर्घटनामा परि घाइते भएका चार जनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको छ। सुपप्र ०१–००१ ख ३१८१ नम्बरको रोकिराखेको बस समान हाल्दै गरेको अवस्थामा पछाडि ब्याक भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

यस्तै बाजुराको बुढीनन्दाको पाण्डुसैन बजार नजिकै जीप दुर्घटनामा परि ५ जना घाइते भएका हुन् । घाइते हुनेमा जीपमा सवार जयराज जोशी, शंकर जोशी, सेते ल्वार, जयलाल वि.क र जंगविर सार्की रहेका छन् । घाइते सबैको कोल्टी आधारभुत अस्पतालमा उपचार भइरहेको र सबै घाइतेको अवस्था सामान्य रहेको छ ।

बस दुर्घटनामा परि घाइते हुनेमा बस सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँ बस्ने गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार, सोही ठाउँकी १३ वर्षीय सन्ध्या सुनार, १२ वर्षीया सिमा सुनार, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट बस्ने ४५ वर्षीय मनी कामी, बूढीनन्दा नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीय लक्ष्मी मल्ल रहेका छन् ।

यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी छोरी दुई वर्षीया जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह र जेसिका सिंह घाइते भएकी छन् । यसैगरी बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४० वर्षीया राममाया सुनार, सोही वडाकी ४५ वर्षीया इसरादेवी सुनार, हिमाली गाउँपालिका–५ रुगिन बस्ने १७ वर्षीय प्रकाश चदारा, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–५ बस्ने १८ वर्षीय पविन्द्र सिंह, बूढीनन्दा नगरपालिका–६ कोटिला बस्ने उमेश भाट रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–५ बस्ने १४ वर्षीय गगन महतरा, सोही गाउँका १८ वर्षीय रोशन महतरा, हिमाली गाउँपालिका–६ पाँडी बस्ने २६ वर्षीय गणेश भण्डारी, सोही गाउँपालिका–४ फैती बस्ने १७ वर्षीय फपिन्द्र सुनार, सोही वडामा बस्ने ५८ वर्षीय तुल सुनार र बूढीनन्दा नगरपालिका–६ बस्ने २० वर्षीय दीपेन्द्र भण्डारीसहित ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

बस दुर्घटनामा परि घाइतेलाई राष्ट्रिय युवा संघ बाजुराले बढी कम्मल सहयोग गरेको छ । रात्रिको समयमा विरामीलाई सहज होस् भन्ने उदेश्यका साथ कम्बल सहयोग गरिएको राष्ट्रिय युवा संघ बाजुराका संयोजक विष्न कार्कीले जानकारी दिएका छन् । घाइतेको संख्या बढी भएको र अस्पतालसँग आवश्यक कम्मल नभएको हुँदा कम्वल सहयोग गरिएको कार्कीको भनाइ छ ।