काठमाडौं— महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत चैतदेखि जेठसम्म तीन महिनामा देशभर ३०८ वटा महिला हिंसाका घटना दर्ता भएका छन्।

तीमध्ये २१ वटा हत्या र ३ वटा हत्या प्रयासका घटना भएको ओरेकले जनाएको छ। हिंसाका घटनामध्ये ४१ वटा पत्रपत्रिकाबाट र २६७ वटा प्रत्यक्ष स्रोतबाट संकलन गरिएको हो।

ओरेकका कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हत्या हुनेमध्ये २९ प्रतिशत १८–२५ वर्षका युवती, २४ प्रतिशत २६–३५ वर्षका महिला, र १९ प्रतिशत बालिका छन्।

हत्या गर्नेमा ४३ प्रतिशत श्रीमान, २४ प्रतिशत परिवारका सदस्य, १० प्रतिशत छिमेकी, ५ प्रतिशत साथी, र १४ प्रतिशत पूर्वपति रहेका छन्।

प्रहरी तथ्याङ्क अनुसार सो अवधिमा बलात्कारपछि ४, दाइजोका कारण २, र घरेलु हिंसाका कारण ३८ महिलाको मृत्यु भएको छ।