काठमाडौं— कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ स्थित तीनघुम्तीमा एक यात्रुबस दुर्घटनामा परि एक जना घाइते भएकी छन्।
झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको सप्तकोशी यातायातको बस शुक्रबार बिहान सडक किनारमा पल्टिएको हो।
दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
बसमा रहेका अन्य २६ यात्रुहरू सामान्य अवस्थामा रहेको र गम्भीर क्षति नभएको प्रहरीले बताएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
 
                     
                                         
        








 
        





























 
        