काठमाडौं— श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार आज काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका छन्।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा सुनार आज बयानका लागि अदालतमा हाजिर भएका हुन्। सुनार विद्युतीय कारोबार सम्बन्धी मुद्दाका फरार प्रतिवादी थिए। मन्त्रीमा सिफारिस भएपछि उनको विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो।

काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी जारी गरेको थियो। गौतमले सामाजिक सञ्जालमा भएको गालीगलौजको स्क्रिनसट प्रमाणसहित विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन्।

आज बयान सकिएपछि अदालतले थुनछेक बहस गर्ने तयारी गरेको छ।

सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो। केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी भइरहेकै बेला उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोक्नु परेको थियो।