काठमाडौं— काठमाडौं महानगरपालिका–१८, ढल्कु क्षेत्रबाट प्रहरीले अवैध पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ का २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र १२ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।






































