काठमाडौं— निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।
बुधबार राति बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनले निर्वाचन सबै दलहरुले भाग लि तयार रहेको प्रतिक्रिया बैठकमा दिएको भन्दै अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भन्ने कुरा राखेको जानकारी दिए ।
उनले भने,‘नेपाली कांग्रेसकोतर्फबाट निर्वाचनका लागि सहयोग गर्ने धारणा आएको छ । नेकपा माओवादीको तर्फबाट पनि त्यस्तै कुरा आएको छ । नेकपा एमाले पनि स्पष्ट रुपमा भनेको छ । हामी लोकतान्त्रिक पार्टी भएकोले चुनावमा जाँदैनौ भन्ने होईन् । चुनावा हनुपर्छ भन्नु भएको छ । मात्र के भन्नुभएको छ भने सरकारले चुनाव र सुरक्षाको वातावरण बनाउन सक्छ कि सक्दैन् भनेर चासो राख्नुभएको छ । अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भनेका छन् ।’
त्यस्तै उनले सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाए ।
‘यो बैठक औपचारिक रूपमा सरकारकोतर्फबाट पहिलो पटक आयोजना भएको हो । असाध्यै सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ ।खासगरी राजनीतिक दल र जेजनी पुस्ताबीचमा संवादहीनताको अवस्था थियो । औपचारिक रुपमा संवाद हुन सकेको थिएन । अनौपचारिक रूपमा छलफल भए पनि औपचारिक वार्ता हुन सकेको थिएन आज त्यो अवस्थाको अन्त्य भएको छ ।’
जेनजी प्रतिनिधिहरूले उठाएको मुद्दाहरूलाई राज्यले कसरी प्राथमिकता दिएर कार्यान्वयन अगाडि बढाउने भन्नेबारे गहन छलफल भएको उनले बताए ।





































