काठमाडौं— आगामी फागुनदेखि राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये सबैभन्दा धेरै, आठ जना सांसद नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रहेका छन्।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कार्यकाल सकिने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का सात, नेकपा (एमाले) का आठ, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी (जसपा) का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक र राष्ट्रपतिबाट मनोनीत एक जना सांसद छन्।
राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम पनि यसपटक कार्यकाल समाप्त भई बिदा हुने सांसदमा परेका छन्।
माओवादी केन्द्रबाट बिदा हुने सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेका छन्।
त्यस्तै, एमालेका तर्फबाट इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसी का कार्यकाल सकिँदैछ।
एकीकृत समाजवादीका बेदुराम भुसाल, जसपाका मृगेन्द्रकुमार सिंह यादव र लोसपाका शेखरकुमार सिंह पनि कार्यकाल समाप्त भएपछि पदमुक्त हुने सांसदमा परेका छन्।
यसैबीच, सरकारले राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते आइतबारका लागि तोकेको छ। राष्ट्रियसभामा कुल ५९ सदस्यमध्ये यसपटक १८ जना सदस्यका लागि निर्वाचन हुने बताइएको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        