काठमाडौं— सरकारले राष्ट्रिय सभा सदस्यका रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते आइतबारका दिन निर्वाचन गराउने मिति तोकेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
सरकारका प्रवक्ता खरेलका अनुसार बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय पनि गरेको छ। सो संशोधनमार्फत स्वकीय सचिवालयको दरबन्दी घटाइने भएको छ।
त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा हुने औपचारिक भ्रमण स्वीकृत गरेको छ। राष्ट्रपति पौडेल आगामी कार्तिक १७ देखि २० गतेसम्म उक्त कार्यक्रममा सहभागी हुनेछन्।
बैठकले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ। साथै नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरिएको छ।






































