काठमाडौं— नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। उनले बुधवार नेपाल प्रहरीका निरीक्षक महासंचालक (आईजीपी) को सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जानकारी दिएको छ।

रानाभाट २०५८ सालमा प्रहरी इन्स्पेक्टरका रूपमा सेवामा प्रवेश गरेका थिए। गत साउनमा ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा उनी पनि सो सूचीमा परेका थिए। हालसम्म उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।

परिवारका सबै सदस्य लन्डनमा बसोबास गर्दै आएको र उनीहरूसँग रहन चाहेकै कारणले राजीनामा दिएको रानाभाटले बताएका छन्।