काठमाडौं— नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो ।
सिआईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन् ।
विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । २०८१ को असोज ११ मै सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा जाहेरी पठाए पनि भट्टचन सत्तारुढ दलका सांसद भएको र शक्तिको पहुँचमा रहेकाले अनुसन्धान अघि बढ्न सकेको थिएन ।






































