काठमाडौं— बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएको छ । भारतको मौसम विज्ञान विभागले आँधीको प्रभावका कारण आन्ध्रप्रदेशका तटीय जिल्ला तथा दक्षिण ओडिशामा बिहानैदेखि भारी वर्षा सुरु भएको जनाएको छ ।
ओडिशाको गञ्जाम जिल्लामा समुद्र उग्र बनेको छ भने तीव्र हावा र वर्षा भइरहेको छ । आन्ध्रप्रदेशको विजयवाडामा पनि आँधीको प्रभावस्वरूप वर्षा परेको छ । यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।
मौसम विभागका अनुसार आगामी तीन घण्टाभित्र चेन्नई, काञ्चीपुरम, कन्याकुमारी, रानीपेट, तेनकासी, थिरुवल्लुर, थूथुक्कुडी, तिरुनेलवेली, तिरुपथुर, तिरुवन्नामलै, भेल्लोर, विलुपुरम र विरुधुनगरमा मध्यम वर्षासँगै हल्का गड्यौला र मेघगर्जन हुन सक्ने सम्भावना छ ।
आईएमडी हैदराबादका अधिकारी जी.एन.आर.एस. श्रीनिवास रावका अनुसार, ‘आँधी आज साँझ वा राति माछिलीपट्टनम र कलिङ्गपट्टनमबीच काकिनाडा आसपासको क्षेत्रमा स्थलगत हुने अपेक्षा छ । आन्ध्रप्रदेशका अधिकांश जिल्लामा अत्यधिक वर्षा र तीव्र हावाहुरी चल्ने सम्भावना छ,’ उनले भने ।
उनका अनुसार, पेड्दापल्ली, जयशंकर भूपालपल्ली र मुलुगु जिल्लामा नारंगी सतर्कता (इचबलनभ ब्भिचत) जारी गरिएको छ भने बाँकी उत्तर–पूर्वी जिल्लामा पहेंलो सतर्कता (थ्भिियध ब्भिचत) जारी छ ।
ओडिशाको आर्यापल्ली मरीन प्रहरी चौकीकी इञ्चार्ज बिद्याभारती नायकका अनुसार, आँधीका कारण आन्ध्रप्रदेशबाट आएका माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा अड्किएका छन् । उनले भनिन्, ‘हाम्रा जिल्ला अधिकारीको आदेश अनुसार ३० वटा डुङ्गालाई गोपालपुर बन्दरगाहमा सुरक्षित राखिएको छ, र आँधी सकिएपछि मात्र तिनीहरू फर्कनेछन् ।’
आँधी नजिकिँदै गएपछि आन्ध्रप्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले तटीय क्षेत्रका जनजीवन सुरक्षाका लागि तत्काल कदम चाल्न निर्देशन दिएका छन् । उनले जिल्लास्तरीय प्रमुख र प्रहरी प्रमुखहरूलाई जोखिमपूर्ण तटीय बस्तीका बासिन्दालाई ढिलाइ नगरी राहत केन्द्रमा सार्न आदेश दिएका छन् ।






































