सुनसरी — सुनसरीको इनरुवा–७ निवासी बेचनीदेवी साह ग्यालेम्बर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्। दुर्घटना कार्तिक ४ गते साँझ करिब ६ बजेतिर घटेको हो।
प्रत्यक्षदर्शीका अनुसार मनिस कुमार यादवले चलाएको ग्यालेम्बर मोटरसाइकलले बेचनीदेवीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर रूपमा घाइते भएकी साहलाई तत्काल उपचारका लागि नोबल अस्पताल लगिएको र अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
घाइतेकी साहका छोरा वीरेन्द्र कुमार साहका अनुसार उपचारका क्रममा लाखौं रुपैयाँ खर्च भइसकेको छ र थप उपचारका लागि आर्थिक अभाव देखिएको छ। उनले आमाको ज्यान बचाउनका लागि सहयोगकाे याचना समेत गरेका छन्।
उनका भनाइअनुसार चालक पक्षबाट हालसम्म ६० हजार रुपैयाँ मात्र सहयोग प्राप्त भएको छ भने त्यसपछि चालक पक्ष सम्पर्कमा आएको छैन।
यता, चालक मनिस कुमार यादव हाल प्रहरी नियन्त्रणमा रहेका छन्। तर पीडित पक्षले प्रहरी प्रशासनले अनुसन्धानमा ढिलासुस्ती गरिरहेको र राजनीतिक दबाबमा परेको आरोप लगाएका छन् ।






































