काठमाडौं— अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ ।
ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।
‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले भने ।
एसपी अवस्थीका अनुसार आज बिदा परेकाले मंगलबार थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।
नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर कसुर भने पनि प्रहरीले कस्तो प्रकृतिको उजुरी भन्नेबारे केही खुलाएको छैन ।
यता अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाइएको दाबी गरेका छन् ।






































