पाँचथर— पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले आफ्नै छोराको गोली हानी हत्या गरेका छन्।

भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले मादक पदार्थ सेवन गरेको अवस्थामा आइतबार दिउँसो करिब ३ः२० बजे आफ्नै १७ वर्षीय छोरा सफल सिंघकमाथि भरुवा बन्दुकबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बखतसिंहले घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरालाई निशाना बनाएर गोली चलाएका थिए। दाहिने कुम, कञ्चट र छातीमा गोली लाग्दा सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।

घटनापछि प्रहरीले बखतसिंहलाई प्रयोग गरिएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।

मृतक सफलको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

यो घटनाले गाउँभर शोक र स्तब्धता छाएको स्थानीयहरूले बताएका छन्।