काठमाडौं—  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक (अक्टोबर २७–३०, २०२५) सम्म चल्नेछ । जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सभामा सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरू विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ ।

नेपालको तर्फबाट सहभागिता जनाउँदै मन्त्री घिसिङले सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो ।

सन् २०१५ को नोभेम्बरमा पेरिस घोषणामार्फत स्थापना गरिएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको उद्देश्य सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको प्रयोग विस्तारका साझा चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नु हो । यस पहलमार्फत सन् २०३० सम्ममा एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने र सौर्य प्रविधिको विकास–उपयोगमा मार्गनिर्देशन गर्ने लक्ष्य राखिएको छ ।

नेपाल २०८१ साल भदौ महिनामा प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन भएपछि १०१ औं सदस्य राष्ट्रका रूपमा आइएसएमा औपचारिक रूपमा आवद्ध भएको थियो । मन्त्री घिसिङले सभामा सहभागिता पश्चात् बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।