काठमाडौं— अन्तरिम सरकारमा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई फरक मुद्दामा फरार अभियुक्त रहेको तथ्य प्रहरीको आधिकारिक रेकर्डबाट खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाले पुष्टि गरेअनुसार सुनारविरुद्ध दुईवटा अभियोगमा कैद सजाय भुक्तान गर्न बाँकी छ।

प्रहरी स्रोतका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरे पनि सुनार पक्राउ नपरेका र मुद्दा हालसम्म फर्स्यौट नभएको उल्लेख छ। त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा समेत उनी पक्राउ परेका छैनन्। दुवै मुद्दामा उनी फरार अभियुक्तको रूपमा प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा नामांकित छन्।

सुनारविरुद्ध सर्वोच्च अदालतमा एउटा मुद्दा विचाराधीन रहेको पाइएको छ। अधिवक्ता मनिषा गौतमले दायर गरेको मानहानीसम्बन्धी मुद्दामा गत असोज ६ गते सुनुवाइ तोकिएको थियो, तर सर्वोच्च अदालतमा आगलागीपछि सो मिति स्थगित भएको हो।

गौतमले मुद्दा हाल्नुको पृष्ठभूमिमा नवराज विक प्रकरणमा उच्च अदालत सुर्खेतको फैसलाप्रति असन्तुष्ट हुँदै सुनारले अदालत परिसरमै हुलहुज्जत मच्चाएका थिए। उनले न्यायाधीशहरूमाथि धम्कीपूर्ण अभिव्यक्ति, गेटमा तोडफोड, र सार्वजनिक अपमानजनक व्यवहार गरेको आरोप लागेको छ।

त्यसपछि सर्वोच्च अदालतले सुनारलाई उपस्थित हुन आदेश दिएको थियो। तर उनी सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानविरुद्ध पनि अपमानजनक टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखिएका पोस्टहरूले थप विवाद निम्त्याएका थिए।

अधिवक्ता गौतमका अनुसार, सुनारले फेसबुकमा उनको फोटो र फोन नम्बर प्रयोग गरी चारित्रिक लाञ्छना लगाएका थिए। उनले लेखेका शब्दहरू — “तँ नेपाल बारकी होस कि ठमेल बारकी” यो शब्दलाई लिएर गौतमले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। तर ब्यूरोले सो उजुरी दर्ता नगरी “काभ्रे जिल्ला अदालतमा जानु” भन्दै फर्काएको गौतमले बताएकी छन्।

khagendra-pakrau-purji