दाङ— सल्यान जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।

आइतबार बिहान करिब ५ बजे श्रीनगर निवासी लोकबहादुर बुढाथोकीको घरमा प्रहरी टोलीले छापा मार्दा सोही वडाका वडाध्यक्ष प्रदीप पाण्डे सहित ६ जनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डा. हेमबहादुर केसीका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरुमा लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाया रहेका छन्।

उनीहरुको साथबाट १ लाख ७ हजार ६ सय २५ रुपैयाँ नगद तथा ११ गड्डी तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।