हेटौँडा । लामो समयदेखि अवरुद्ध वागमती प्रदेश सभाको बैठक तिहारपछि सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री सभा हलमा बैठक राख्ने तयारी गरिएको छ ।
प्रदेश सभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रूपमा बैठक सञ्चालन गर्नका लागि उक्त भवनको मर्मत सम्भार कार्य भइरहेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालनको तयारी गरेको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवनको अधिकांश भाग जलेका छन् । अल्मोनियम र युपिभिसी प्रोफाइलबाट निर्माण गरिएको उक्त भवनको सरसफाइ र विद्युतीकरणको काम गरेर बैठक चलाउने तयारीमा सरकार अघि बढेको हो ।
सहरी विकास तथा भवन कार्यालयले उक्त सभा हलको व्यवस्थापनको काम गरिरहेको छ । जलेका भागहरू हटाएर रंगरोगन गर्ने र अस्थायी प्रकृतिको व्यवस्थापनमा कार्यालयले काम गरिरहेको हो । कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार सो भवनमामा जलेका स्थानमा सफा गरेर रङ लगाउने र विद्युतीकरणको काम गरिरहेको छ ।
तिहार अघि भवनको मर्मत सम्भारको काम सकिने छ कार्यालय प्रमुख अधिकारीले भने । तिहार पछि प्रदेश सभाको बैठक राख्ने तयारी भइरहेको । प्रदेश सभाका सचिव रामकुमार पौडेल बताए ।
हेटौँडा उपमहानगरपालिका—१०स्थित प्रदेश सभाको नवनिर्मित भवन जेनजी आन्दोलनको क्रममा आगजनी गरेर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । करिब १२ करोडको लागतमा निर्माण गरिएको उक्त प्रदेश सभाको हल भदौ २४ गते आगजनी गरेर नष्ट भएको छ ।