काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण'ले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनले पार्टी नेतृत्वको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पने निर्णय गरेका हुन्।

वैद्यको राजीनापछि अब पार्टीको महासचिवको जिम्मेवारी वरिष्ठ नेता सीपी गजुरेलले सम्हाल्ने भएका छन्। गजुरेलका अनुसार वैद्यले पार्टी नछाडे पनि अब सल्लाहकारको भूमिकामा रहनेछन्।

'स्वास्थ्यका कारण उनले पदबाट मात्र राजीनामा दिएको हो, पार्टी छोडेको होइन,' गजुरेलले भने, 'उनी सल्लाहकारका रूपमा रहने र महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि सहभागी रहने छन।'

केन्द्रीय समिति बैठकबाट गजुरेललाई नयाँ महासचिवका रूपमा अनुमोदन गरिसकिएको छ। 'अब म पूर्ण रूपमा महासचिवको जिम्मेवारीमा छु,' गजुरेलले स्पष्ट पारे।