ब्राजिल । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव  तथा आईटिएफ , लण्डनका बोर्ड सदस्य अजयकुमार राईले नेपालका हरेक आन्दोलन र परिवर्तनहरुमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।

इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटिएफ )लण्डनको विश्व कार्य समितिको ब्राजिलको रिय द जेनरियोमा आयोजित बैठकमा भाग लिन पुगेका राईले नेपालमा भएको जेनजी आन्दोलन बाट श्रमिकहरु पनि प्रभावित भएको बताए । उनले आन्दोलनका कारण देशभर हजारौ को संख्यामा मजदुरहरु प्रभावित भएको र १५ हजार बढिले रोजगारी गुमाएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय बैठकमा विशेष समय लिएर बोल्दै फेडेरेसनका बोर्ड सदस्य राईले वर्तमान नेपालको अवस्थाबारे आफनो धारणा राखेका थिए । सो अवसरमा उनले नेपालमा भएको जेनजी आन्दोलनमा उठेका सुशासन, बेरोजगारी, दण्डहीनता, नातावाद, कृपावाद साथै भ्रष्टाचारका विषयमा आफूहरुको संस्थागत  धारणा गत श्रावण २ गते नै मिडिया मार्फत आइसकेको बताए । 

आफ्नो संस्थाका तर्फबाट जेनजी ले उठाएका मुद्धाहरु लाई लिएर तत्कालीन सरकारलाई श्रावण २ गते नै मिडिया मार्फत झकझक्याएको पनि बैठकमा जानकारी गराए । आन्दोलनमा करिब ७६ जनाले ज्यान गुमाएको, विभिन्न सरकारी, व्यापारिक प्रतिष्ठानहरु, व्यक्तिगत सम्पत्तीहरु आन्दोलनको दोस्रो दिन तोडफोड तथा आगजानीमा जेनजी हरुले आफनो प्रत्यक्ष संलग्नता नरहेको भनि बताएको पनि स्पष्ट पारे ।

घट्नाका विषयमा अन्तरिम सरकारले छानविन समिति बनाइसकेकाले तथ्य बाहिर आउने बैठकमा जानकारी गराए । बैठकमा उनले मुलत लोकतन्त्रको आधार श्रमिक आन्दोलन नै हुने भएकाले कतै ट्रेड युनियनहरु माथि पनि समस्या हुन्छ कि भन्ने चिन्ता पनि व्यक्त गरे ।

आगामी फागुन २१ गतेको निर्वाचन हुनुपर्नेमा जोड दिंदै उनले लोकतन्त्र बिना ट्रेड युनियन तथा मानवअधिकार पनि समस्यामा रहने भएकोले आगामी दिनमा फेडेरेशनको सक्रियतामा अन्र्तराष्ट्रिय ट्रेड युनियन क्षेत्रका सबै ग्लोबल युनियनहरुको प्रतिनिधिहरु सम्मिलित उच्च स्तरीय मिसन नेपाल भ्रमणमा आउने आग्रह समेत गरे ।

नेपालबाट सन् २०२९ सम्मका लागि सो फेडेरेशनको विश्व कार्य समितिमा नेपालका तर्फ बाट प्रतिनिधित्व गरेका महासचिव राईले बैठकमा २००२ मा पनि राजा ज्ञानेन्द्रले शासन लिंदा लोकतन्त्रका खातिर फेडेरेशनले तत्कालीन अवस्थामा वाह्य देशमा रहेका नेपालका १७ वटा कूटनीतिक कार्यलयहरु अगाडि आफनो आबद्ध संस्थाहरुमार्फत लोकतन्त्र बहालीका लागि प्रदर्शन गरेको पनि स्मरण गराएका थिए ।

बैठकमा नेपाललगायत विभिन्न देशमा भएका राजनीतिक घटनाक्रमहरुले लोकतन्त्रमा समस्या पर्छ कि भन्ने चिन्ता व्यक्त गर्दै फेडेरेशनका महासचिव स्टीफन कटनले लोकतन्त्र, ट्रेड युनियन अधिकारका खातिर फेडेरेशनको साथ सहयोग र एक्यबद्धता रहने एवम उच्च स्तरीय मिसनबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 

बेलायतमा मुख्यालय रहेको फेडेरेशनमा १४७ वटा देशका यातायात क्षेत्रका सात सय बढी यातायात मजदुर संगठनहरु आबद्ध छन् भने विश्वभरी करिब दुई करोड सदस्यहरु रहेका छन् । सबै महादेशहरुमा फेडेरेशनको कार्यालयहरु श्रमिक आन्दोलनका लागि क्रियाशील छ । 

वर्षमा दुई पटक  हुने गरेको विश्व कार्य समिती को पुर्ण बैठक अघि अक्टोबर १५ मा कार्य सम्पादन तथा १६ र १७ मा पूर्ण बैठक सम्पन्न भएको हो । गत वर्ष मोरक्कोमा सम्पन्न विश्व महाधिवेशनले पचास भन्दा अनुमोदन गरेको रेजुलेसनहरु कार्यान्वयनको सवालमा समिक्षा तथा आगामी दिनमा गरिने कामहरुलाइ पनि प्राथमिकता राख्नेगरि बैठकमा बहस भएको थियो ।