काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ । 

पार्टीले दुइटा प्रदेश समितिको अधिवेशन गरेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको पार्टी प्रचार विभागले जनाएको छ । पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

जसपा नेपालले कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ । कोशी प्रदेश समितिको अधिवेशनबाट दीपक याक्खाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ । 

प्रदेश समितिको उपाध्यक्षमा अनील ठाकुर, हस्तशोधा राई, विष्णुकुमार लावती मुख्यसचिवमा घनश्याम कटुवाल सचिवहरुमा आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली र कोषाध्यक्षमा केशब जवेगू निर्वाचित भएका छन् ।

त्यसैगरी मधेस प्रदेश समितिको अधिवेशनबाट अध्यक्षमा बालकिशोर प्रसाद यादव, मुख्य सचिवमा ज्ञानेन्द्र यादव र कोषाध्यक्षमा विष्णु साह निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदाधिकारी र सदस्यहरु निर्वाचित हुने प्रक्रियामा रहेको बताइएको छ।

जसपा नेपालको लुम्बिनी प्रदेश समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश समितिले कार्तिक २९ र ३० गते भैरहवामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । जसपा नेपालका बाँकी प्रदेश समितिले अधिवेशनको तयारी गरिरहेको बताइएको छ ।