जनकपुर— जनकपुरधाममा शुक्रबार राति प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरूबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मारेपछि विवाद उत्पन्न भएको हो । 

सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरूले दिपावलीको मुखमा राति आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए । सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रुग्यास समेत चलाएको थियो ।

प्रहरीले व्यवसायीको पसलबाट सुनचाँदी बिना मुचुल्का लग्न खोजेको भन्दै व्यापार संघका अध्यक्षले रोक्न खोज्दा प्रहरी र व्यवसायीहरुबीच विवाद झन् अल्झिएको थियो । सो क्रममा अध्यक्ष भण्डारीको टाउको फुटेको छ भने शरीरका अन्य भागहरुमा पनि चोट लागेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

घटनामा १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डीएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

संघले राति नै विज्ञप्ति जारी गरी प्रहरीले गरेको क्रियाकलापको घोर भर्त्सना गरेको छ भने दोषीमाथि कारबाहीको माग गरेको छ ।