हुम्ला— हुम्लाको नाम्खा गाउँपालिका– ६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्साएपछि सञ्चालनमा आएको हो ।
पूर्वाधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्साउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो ।
बिहीबार हिउँ पन्साएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए ।
सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्साएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए ।
सडक सञ्चालनमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालीस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् ।
हिमपातपछि लिमी उपत्यकामा यतिबेला चिसो अत्यधिक बढ्दै गएको छ । यहाँको तापक्रम बिहानबेलुका माइनसमा हुने गरेको छ ।