काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' सहित दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्काविरुद्ध गैरकानुनी सम्पत्तिको आशंकामा अनुसन्धान सुरु गरेको छ।

विभागले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार तथा मालपोत कार्यालयमार्फत उनीहरू र उनीहरूका नातागोताको नाममा रहेको सम्पत्ति, लगानी, कम्पनी र बैंक खाता विवरण संकलन गरिरहेको स्रोतले जानकारी दिएको छ।

भदौ २४ मा भएको जेनजी आन्दोलनको क्रममा नेताहरूको निवासमा भेटिएका जलेका नोटका अवशेषको फरेन्सिक रिपोर्टसमेत विभागले माग गरेको छ।

पूर्वप्रधानमन्त्रीहरूमाथि जलविद्युत्, क्यान्टोनमेन्ट, शरणार्थी प्रकरण, ठेक्का प्रक्रिया र सरुवा–बढुवामा अनियमितता जस्ता गम्भीर आरोपहरू लाग्दै आएका छन्। विभागले तीन पुस्तासम्मको सम्पत्ति विवरण संकलनपछि बयान लिने तयारी गरिरहेको छ।