काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै छ। 

दलहरूसँगको बैठक अहिले बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको कार्यालयमा हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

‘यसका लागि हामीले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ दललाई पत्र पठाइसकेको छौँ’, उनले भने, ‘आज उनीहरूलाई अहिलेसम्म निर्वाचनका लागि हामीले गरेका तयारीबारे जानकारी गराउने र उनीहरूबाट सुझाव लिने कार्यक्रम छ।’ 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकेका छन्।